डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ ।
अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ ।
खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ ।
एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्न दिनुहुदैन ।
के हो डेंगु ?
एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।
एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।
डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।
डेंगु ज्वरोका तीन अवस्थाहरु हुन्छन्।
१. साधारण डेंगु ज्वरो
२. डेंगु हेमोरेजिक ज्वरो
३. डेंगु शक सिन्ड्रोम
हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुन सक्छ ।
डेंगु रोग मानिसबाट मानिसमा सोझै सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन। डेंगु ज्वरो लागेको विरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज/Aedes)मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ। डेंगु ज्वरोको रोगीको रगत अरुलाई चढाउँदा, अंग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ।
डेंगु भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ।यो ग्रामिणमा भन्दा शहरी क्षेत्रमा बढी पाईन्छ ।डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्।
यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्।यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ।
डेंगु लागेको कसरी थाहा पाउने ?
डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ ।
डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । कतिपय बिरामीहरु चक्कर लागेर बेहोससमेत हुन्छन् । खानामा जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ । पखाला लाग्छ । टाउको तथा कम्मर दुख्छ । र, गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ । चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।
डेंगु लाग्दा देखिने लक्षणहरु ,
- डेंगु रोगले सक्रमित व्यक्तिहरुमा रुघाखोकी र तिब्र ज्वरो आउने हुन्छ |
- जाडो हुँदै ज्वरो आउने,
- असाध्यै टाउको दुख्ने
- मुटुको धड्कन कम हुने,
- आँखा रातो हुने,
- अनुहार गुलाबी देखिने,
- खलखली पसिना आउने,
- आँखामा दुखाइ हुने,
- आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
- ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने
- बान्ता हुने,
- रिङ्गटा लाग्ने,
- नाक वा गिजाबाट रगत बग्ने, हुन्छ।
- त्यस्तै स्वास फेर्न अप्ठ्यारो हुने,
- शरीर सुन्निने,
- छालामा राता बिमिरा देखिने,
- शरीरका अंगहरुबाट रक्तश्राव हुने, (विशेषगरी नाक, मुख र मांसपेशी (डेंगु हेमोरेज फेबर),
- पिसाब रातो आउने,
- दिसा कालो हुने,
- बेहोस हुने,
- ब्लड प्रेसर कम (लो) हुने,
- रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगमा रक्तसंचार सुचारु रुपले हुन नसक्ने,
- शरीरमा रगत जमेको दागहरू देखापर्ने, जस्ता लक्षणहरु हुने गर्दछन्।
डेंगु रोगका लक्षणहरु लेप्टोस्पाइरोसिस, टाइफाइड, एलो फेवर, स्कारलेट फिवर, रकी माउन्टेन फिवर, मेनिन्जोकोक्सेमिया, मलेरिया, चिकनगुनिया, फुड पोइजनिङ तथा अन्य रोगका लक्षणसँग पनि मिल्दाजुल्दा हुन्छन्।
डेंगु ज्वरोबाट बच्ने उपायहरु,
यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।
- डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
- पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू, घर आसपास एवं टोल छेउछाउ,आदिमा पानी जम्न नदिने
- नीमको पात बालेर त्यसको धुँवा घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् ।
- पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने
- कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
- फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
- यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ
- सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
- लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ
- घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
- घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।
- खाल्टाखुल्टीमा जम्मा भएको पानीमा फूल पार्ने हुँदा यस्ता ठाउँमा पानी जम्न दिनुहुदैन
- जमेको पानीलाई पुर्ने व्यवस्था गरिनु पर्दछ।
- घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।
- पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन ।
- भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ ।
उपचार के छ ? कसरी गरिन्छ उपचार ?
अहिलेसम्म डेंगुको औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यसैले माथिका लक्षणहरु देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।
डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।
यो रोग लागेपछि लाक्षणिक उपचार गर्दै जाने हो। डेंगुुका बिरामीले मेवाको पातको जुस पिउँदा राम्रो हुन्छ । सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खाने कुरा खानुहुँदैन । मसलेदार चटपटे खानेकुरा बन्द गर्नुपर्छ । अनार वा गहुँको जमराको रस पिउनुपर्छ । ताजा मौसमी फलफूल खानुपर्छ । नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ । भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा खानुपर्छ ।
डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन । यस्ता औषधिले रक्तश्राव बढाउने गर्दछ।
डेंगु ज्वरोका बिरामीहरुलाई राहत प्रदान गर्न उपचार गरिन्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।
गम्भीर बिरामीलाई अस्पातलमा राखेर फ्लुड हाइड्रेसन, ब्लड ट्रान्सफ्युजन, प्लेटलेट्स ट्रान्सफ्युजन, ब्लड प्रेसर सपोर्ट तथा अन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्न सक्छ। १० वर्षभन्दा कम उमेर समूहका बाल बालिकामा यो रोग सर्ने प्रबल सम्भाबना हुन्छ।
यो रोगको कारण ६ देखि ३० प्रतिशतसम्म बालबालिकाको मृत्यु दर रहेको छ। एक वर्षभन्दा कम उमेरका बालबालिकालाई डेंगु रोग लागेको खण्डमा मृत्यु हुने सम्भावना बढी हुन्छ।
डेंगुले विश्वभरमा कस्तो प्रभाव
विश्व स्वास्थ्य संगठनको ( डब्लुएचओ) अनुसार, यो दशकमा विश्वभरि नै डेंगुको विस्तारमा नाटकीय रूपमा वृद्धि भएको छ । हालैको आंकलनअनुसार विश्वव्यापी रुपमा वर्षेनी ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अर्को अध्ययनमा उल्लेख छ ।
डब्लुएचओका अनुसार गएका ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ । प्रत्येक वर्ष झन्डै २० हजारभन्दा बढी व्यक्तिको डेंगुकै संक्रमणबाट ज्यान गुमाउँछन् । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छन् ।
विश्वस्वास्थ्य संगठनले डेंगुलाई खतरनाक रोग मानेको छ । यसको कुनै उपचार नभएकाले पनि विशेष सतर्क अपनाउन आग्रह गरेको छ ।