पर्शुराम कुँवर क्षेत्री

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा पछि जारी गरेको निर्देशनमा मार्जिन कर्जाको जोखिम भार १५० प्रतिशत पुर्याउने उल्लेख गरेपछि शेयर बजारमा त्यसको प्रभाव परेको जस्तो देखिएको छ ।

बजारलाई असर गर्ने प्रमुख कुरा लगानी योग्य रकम (तरलता) हो । तरलता नभएपछि बैंक तथा वित्तीय सस्थाहरुले ब्याजदर बढाउँछन् । यसको शेयर बजारमा ठूलो असर पर्ने देखिन्छ त्यसैले तरलता बढाउने काम गर्नुपर्छ ।

हामीले टाउको दुख्यो भनेर सिटामोल खाए केही समयको लागि निको होला तर टाउको किन दुखेको हो भन्ने कुरा थाहा पाउन जरुरी छ । अहिलेको समस्या भनेको ब्यालेन्स अफ पेमेन्ट (भुक्तानी सन्तुलन) नकारात्मक भएर हो । व्यापार घाटा बढेको कारणले त्यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ ।

व्यापार घाटा घटाउनको लागि आयातलाई प्रतिस्थापन गर्नुपर्ने हुन्छ । निर्यातलाई बढाउनु पर्यो । रेमिटयान्स अनौपचारिक माध्यममार्फत वा हुन्डीमार्फत आएको छ भने त्यसलाई औपचारिक माध्यममा ल्याउन सक्नुपर्यो । बैदेशिक लगानी, बैदेशिक ऋण र अनुदान सबै परिचालन गर्नुपर्यो र पूँजीगत खर्च बढाउनु पर्यो । यी सबै हुन सके भने बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहन्छ ।