नयाँ सञ्चालनमा आएका १० जीवन बीमा कम्पनीहरुमध्ये पाँचले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेका छने भने बाँकी पाँचले भने अहिलेसम्ममा शेयर निष्काशन गरेका छैनन् । 


 नयाँ जीवन बीमा कम्पनीहरुमा ज्योति लाइफ, युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरिसकेका छन् । 

रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी थालेका छन् । 

 आईपीओ निष्काशन गर्न बाँकि रहेका पाँच कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर निष्काशन गर्नेछ । नयाँ जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स गरि चारवटै कम्पनीले ६० करोड रुपैयाँका दरले २ अर्ब ४० करोड रुपैयाँको आईपीओ निष्काशन गरेर बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्ने तयारीमा रहेका छन् ।

 हाल यी चारवटै कम्पनीहरुको संस्थापकहरुबाट एक अर्ब ४० करोड रुपैयाँ पूँजी चुक्ता पुर्याइसकेका छन् । प्रत्येक कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ जारी गर्दा सबै कम्पनीहरुको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार दुई अर्ब कायम हुनेछ । आईपीओ निष्काशन गर्ने प्रकृया कहाँ पुग्यो? 

 सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै सबैभन्दा धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । सिटिजनको आईपीओलाई इक्रा नेपालले इक्राएनपी–आईआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । त्यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउछ । यस्तै, कम्पनीले समयमै वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको बुझाउछ ।

 कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ । आइएमई लाइफ इन्स्योरेन्सले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । 

 हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित रहेको जनाउँछ । 

 कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव तेस्रो वार्षिक साधारण सभाले पारित गरिसको छ । 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । रिलायवल र सन नेपालले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने नयाँ जीवन बीमा कम्पनीहरु मध्ये रिलायवल लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । 

दुबै कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्न बीमा समितिबाट अनुमति समेत पाइसहेका छन् । रिलायवल लाइफ इन्स्योरेन्सले भने आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगिसकेको छ । कम्पनीले प्रिमियम सहित प्रति कित्ता २१२ रुपैयाँका दरले ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । यद्यपी कम्पनीले आईपीओ निष्काशनको अनुमति भने पाएको छैन् । यस्तै सन नेपाल लाइफलाई पनि प्रिमियममा आईपीओ निष्काशन बीमा समितिले अनुमति दिएको छ । तर कति मूल्यमा शेयर निष्काशन गर्ने भन्ने विषयमा निर्णय भएको छैन् । सन नेपाल लाइफले आईपीओको रेटिङ्ग समेत गराइसकेको छ । सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ । जसले औसत भन्दा कमजोर वित्तीय अवस्था रहेका कम्पनी भन्ने जनाँउछ । सन नेपाल लाइफले गत फागुन ४ गतेको साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । नयाँ बीमा कम्पनीहरुमा तीन निर्जीवन बीमा र पाँच जीवन बीमा कम्पनीले आईपीओ निष्काशन गरिसकेका छन् । आईपीओ निष्काशन गर्नेमा निर्जीवन बीमा तर्फ अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स नेपाल रहेका छन् । यस्तै जीवन बीमा तर्फ रिलायन्स लाइफ, ज्योति लाइफ, युनियन लाइफ, सानिमा लाइफ र प्रभु लाइफ रहेका छन् ।