मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि सोमवार आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानियमा विक्री गरेको आईपीओ सोमवार बाँडफाँट गरेको हो ।

 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर दिइएको छ । १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरुमध्यबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गतका आवेदकहरुले १९० कित्तासम्म शेयर हात पारेका छन् ।

त्यस्तै आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकहरुमध्यबाट १० कित्तादेखि ४० कित्तासम्म माग गर्नेलाई माग बमोजिम र ५० देखि ४०० कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् । आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् । 

यस आईपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकहरुमध्य आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १४७ जना आवेदक रहेका थिए । यी मध्य ४९ जनाको आवेदन रद्द भएको र योग्य १२ हजार ९८ जना आवेदकहरुमा शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । 

कम्पनीले कुल कित्तामध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गरेको हो । यस अघि बैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको कम्पनीले त्यस क्षेत्रमा निशेधाज्ञा भएपछि बैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो । उक्त शेयर अवस्था सामान्य भएसँगै कम्पनीले पुनः विक्री गरेको थियो । 

सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न बैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर स्थानियमा वितरण गरेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले आम सर्वसाधारणमा विक्री गर्नेछ । यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि यही असोज २० गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। 

कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेस गर्न सक्नेछन्। 

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन पेस गर्न सक्नेछन्। आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते हुनेछ। उक्त अवधिमा पनि मागबमोजिम आवेदन नपरेमा ढिलोमा कात्तिक ३ गतेसम्म बिक्री खुला रहनेछ।

 सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत वैशाख ५ गते निष्कासन अनुमति दिएको थियो। 

यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र जिल्लाकै अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता निष्कासन गरेर बाँडफाँड पनि गरिसकेको छ। 

मध्य भोटेकोशीको आईपीओ निष्कासनकर्तामा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।