सुवास निरौला लामो समय देखि पूर्णता पाउन नसकेको सरकारले शुक्रवार पूर्णता पायो। प्रधानमन्त्री शेर बहादुर देउवाले पछिल्लो ८८ दिन देखि सरकार बिस्तार गर्ने प्रयास गरिरहेका थिए। 

जसले शुक्रवार पूर्णता पाएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका लागि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेताहरूलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिए सँगै शुक्रवार मन्त्रीमण्डल बिस्तारले पूर्णता पाएको हो।

 सरकारले पूर्णता पाएको खबरलाई शेयर बजारका लगानीकर्ताले समेत गम्भीर रुपमा हेरिरहेका छन्। लामो समयदेखि सरकारले पूर्णता नपाउँदा लगानीकर्ता समेत अन्योलमा थिए।
 सरकारले पूर्णता पाउला या नपाउला भन्ने दुबिधाकै कारण पनि बजारमा त्यसकाे प्रभाव देखिंदै आएको थियो।
तर शुक्रवार सरकारले पूर्णता पाएसँगै लगानीकर्तासमेत हौसिएका छन्। उनीहरूले विस्तार भएको मन्त्रीमण्डलले शेयर बजारमा समेत सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्।
 “लामो समयदेखि रोकिई राखेको मन्त्रीमण्डलले पूर्णता पाएसँगै त्यसले बजारमा राम्रो प्रभाव पार्छ भन्ने अनुमान छ” नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मेरो लगानीसँग भने। 

 उनका अनुसार बजारमा प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष प्रभाव भने बढी पर्नेछ। किनकि यतिबेला शेयर बजार होस् वा निजी क्षेत्र तरलता र चर्को व्याजको सामना गरिरहेका छन्।
 तीनै कुराले बजारमा हिट गरिरहेको छ। उक्त समस्या भनेको समयमा गर्नुपर्ने खर्च नभएर हो। सम्बन्धित मन्त्रालयमा मन्त्री नभएको कारण पनि उक्त खर्च हुन सकिरहेको थिएन। तर अब सबै मन्त्रालयमा मन्त्री भएपछि खर्च गर्नुपर्ने कुरामा विलम्ब हुँदैन। 

खर्च गर्न समय नलाग्ने बित्तिकै बजारमा पैसा आउने छ जसले गर्दा तरलता समस्या र त्यसले सिर्जित गरेको ब्याजदर बढ्ने समस्या पनि न्यूनीकरण गर्न सहयोग पुग्नेछ।यसले शेयर बजारलाई समेत अप्रत्यक्ष रुपमा राम्रो गर्नेछ। एकातर्फ नगद प्रवाह बढ्छ।

 अर्कोतर्फ मन्त्रीमण्डल बिस्तार नहुँदा लगानीकर्तामा आउने दिनमा के हुने भन्ने अन्याैल बढी थियो। तर सरकारले पूर्णता पाएपछि कम्तीमा आउने निर्वाचनसम्म यो सरकार टिक्छ भन्ने विश्वास लगानीकर्तामा पलाएको छ।

 निर्वाचनसम्म सरकार टिक्ने भएपछि बजारका विषयमा सरकारले पनि त्यति कडी कडाऊ गर्ने छैन। किनकि निर्वाचनको मुखमा सरकारले रिस्क लिँदैन। 

फेरि निर्वाचन भन्ने बित्तिकै बढी खर्च हुन्छ। जसले गर्दा पनि बजारलाई अघि बढ्न टेवा दिन्छ नै भन्ने अनुमान हाम्रो छ। मन्त्री मण्डलले पूर्णता पाउँदा बजारले राम्रै प्रतिक्रिया देला भन्ने अपेक्षा गरिरहेको नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले बताए। 

यता सरकार बिस्तारले बजारलाई सहयोग गर्ने छ भने अर्कोतर्फ कम्पनीहरूले गरिरहेको लाभांश घोषणाले पनि बजारलाई सघाउन सक्छ। किनकि दोस्रो बजारमा सूचिकृत कम्पनीहरूले राम्रो प्रतिफल दिन थालेका छन्। 

जसले गर्दा पनि बजारलाई यसले सहयोग नै गर्ने रानाभाटको भनाइ छ। बजारमा थुप्रै लगानीकर्ताहरुलाइ नेपाल राष्ट्र बैंकले ल्याएको १२ करोडको नीतिले समस्यामा पारेको छ। उक्त नीतिले प्रभाव पारेपछि विभिन्न कोणबाट उक्त नीतिलाई परिमार्जन गर्नुपर्छ भनेर तीव्र लबिङ भइराखेको छ। याे विषयमा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाइ धेरैपटक भनिसकेको अवस्था पनि हो।

 याे नीति धेरै समय पर नजाने अनुमान लगानीकर्ताहरूको छ। पहिलो त्रैमासको समीक्षामा राष्ट्र बैकले उक्त नीतिमा केही लचकता अपनाउँछ भन्ने नै विश्वासमा लगानीकर्ता छन्। याे नीतिमा लचकता आउने भएकोले पनि बजार आगामी दिनमा राम्रै गरी अघि बढ्ने बजारका एक जानकार पुराना शेयर विश्लेषकले मेरो लगानीलाई बताए।