वारेन बफेटलाई सबैभन्दा सफल लगानीकर्ताका रुपमा चिनिन्छ । इन्भेष्टमेन्ट कम्पनी ‘बर्कसायर हाथवे’ का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसमेत रहेका बफेटसँग लगानी सम्बन्धी लामो अनुभव रहेको छ । बफेटले पहिलो लगानी ११ वर्षको उमेरमा गरेको थिए । त्यसैले, बफेटको लगानी गर्ने शैलीलाई धेरै लगानीकर्ताले फलो गर्ने गरेका छन् । उनको लगानी सम्बन्धी अनुभव सुन्न र विभिन्न लेक्चरहरुमा सहभागी बन्दा पनि लगानी गर्न थप सहज महशुस गर्नेहरुको पनि कमी छैन ।

बफेट अमेरिकाको ओमाहामा सन् १९३० मा जन्मिएका हुन् । सानो उमेरदेखि नै व्यापारमा रुचि राख्ने बफेटले बिजनेसमा अन्डरग्राजुएट गरेका छन् भने अर्थशास्त्रमा डिग्री हासिल गरेका छन् । उनले सन् १९५० को सुरुवातमा लगानी बिक्रेता (इन्भेष्टमेन्ट सेल्सपर्सन) को रुपमा आफ्नो पेशाको सुरुवात गरेका थिए । सन् १९५६ मा ‘बफेट एसोसिएट्स’ स्थापना गरे । यसको १० वर्षभन्दा कम समयमै (सन् १९६५) उनले बर्कसायर हाथवे सम्हालिसकेका थिए ।

बफेटको फिलोसोफी 

वारेन बफेटले बेन्जामिन ग्राहमले अभिनिर्माण गरेको ‘भ्याल्यू इन्भेष्टिङ’ लाई बढी प्रयोग गर्ने गरेका छन् । ग्राहमलाई वारेन बफेटका गुरुको रुपमा पनि चिनिन्छ । भ्याल्यू इन्भेष्टरले आफ्नो वास्तविक मूल्य भन्दा न्यून भाउमा कारोबार भइरहेका सेयरहरु पत्ता लगाउने तथा अनुसन्धान गरी खरिद गर्ने काम गर्छन् । बजार भाउका आधारमा अन्डरभ्याल्यूड सेयरहरु भ्याल्यू इन्भेष्टरको रोजाइमा पर्दछन् । बफेटले भ्याल्यू इन्भेष्टमेन्टलाई अर्कै तहमा पुर्याएका छन् ।
 
बफेट सेयर बजारको माग र आपूर्ति चक्रलाई वास्ता गर्दैनन् । वस्तवमा बफेट समग्र सेयर बजारको गतिविधिलाई नै वास्ता गर्दैनन् । उनी प्रत्येक कम्पनीलाई समग्रमा विश्लेषण गर्दछन् । सेयर पिक गर्दा पनि कम्पनीको समग्र सम्भाव्यतालाई आधार बनाउँछन् । त्यसैले बफेट पुँजीगत लाभको पछि लाग्दैनन् । नाफा बढाउन सक्ने विशेष गुण भएका कम्पनीहरुको स्वामित्व लिन उनी रुचाउँछन् ।

कम्पनी छनोट गर्ने बफेट विधि 
 वारेन बफेटले सेयरको श्रेष्ठताको तह र बजार भाउको लेखाजोखा गर्न विभिन्न आधारहरु केलाउने गरेका छन् । यिनै आधारहरुको सुक्ष्म विश्लेषण गरी उनी कम्पनी छनोट गर्दछन् । बफेटले सेयर छनोट गर्दा कुन–कुन विषयको विश्लेषण गर्दछन् भन्ने यहाँ चर्चा गरिएको छ ।
१ कम्पनीको प्रदर्शन  
इक्विटीमा प्रतिफल वा रिटर्न अन इक्विटी (आरओइ) ले सेयर लगानीबाट लगानीकर्ताले कुन दरमा प्रतिफल पाउन सक्छन् भन्ने विषयको जानकारी गराउँछ । कुनै कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ कि छैन भन्ने थाहा पाउन बफेट सधैं आरओई विश्लेषण गर्दछन् । 
 
कुल सम्पति (एसेट्स) बाट दायित्व (लायबिलिटिस) घटाउँदा इक्विटी प्राप्त हुन्छ । र गणितीय हिसाबमा, खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आरओई प्राप्त हुन्छ । .गत विगत एक वर्षको आरोई हेरेर मात्र लगानी गर्नु उचित मानिँदैन । लगानीकर्ताले कम्तिमा विगत १० वर्षको आरओईलाई विश्लेषण गर्नु पर्दछ ।

२ कम्पनीको ऋण 
बफेटले लगानी छनोट गर्नुअघि गहन रुपमा अध्ययन गर्ने अर्को विशेषता भनेको कम्पनीको डेब्ट टु इक्विटी (डीइ) रेसियो हो । यो रेसियोले कम्पनीको दायित्व र इक्विटीको संक्षेप प्रदान गर्दछ । बफेट चाहन्छन् कि कम्पनीको आम्दानी वा नाफा ऋण लिएको पैसाबाट नभई सेयरधनीले लगानी गरेको इक्विटीबाट उत्पादन होस् । त्यसैले बफेट जहिले पनि न्यून ऋण (डेब्ट) भएका कम्पनीहरु छनोट गर्दछन् ।
 
कम्पनीको कुल दायित्वलाई कुल इक्विटीले भाग गर्दा डेब्ट टु इक्विटी रेसियो पाइन्छ । यसले कम्पनी कति लोनमा र कति आफ्नै सम्पतिमा सञ्चालन भइरहेको छ भन्ने संकेत गर्छ । यस रेसियोले कम्पनीको ऋण अधिक छ कि छैन भन्ने पत्ता लगाउन सहयोग पुर्याउँछ । बढी डीइ रेसियोले कम्पनी अधिक ऋणमा छ भन्ने संकेत गर्दछ । 

३ नाफा (प्रोफिट) मार्जिन  
कुनै पनि कम्पनीको लाभदायिकता (प्रोफिटेबिलिटी) राम्रो प्रोफिट मार्जिनमा मात्र नभई निरन्तर वृद्धि गर्न सक्ने क्षमतामा पनि निर्भर हुन्छ । प्रोफिट मार्जिनले व्यापारको कति प्रतिशत हिस्सा नाफामा परिणत भएको छ भन्ने सूचित गराउँछ । सामान्य अर्थमा भन्नुपर्दा, यस्तो प्रतिशत आँकडाले १ रुपैयाँको व्यापार गर्दा कति पैसा नाफा हुन्छ भन्ने जानकारी दिन्छ । 
 
कम्पनीको प्रोफिट मार्जिन सम्बन्धी राम्रो जानकारी हासिल गर्न कम्तिमा पनि ५ वर्षको प्रोफिट मार्जिनलाई अध्ययन गर्नुपर्छ । प्रोफिट मार्जिन धेरै हुँदा कम्पनीले राम्रोसँग व्यवसाय गर्दै आएको छ भन्ने जानकारी पाइन्छ । तर बढ्दो क्रममा रहेको मार्जिनले भने कम्पनीको व्यवस्थापन खर्च नियन्त्रण गर्न निकै प्रभावकारी रहेको पनि जानकारी हुन्छ । 

४ कम्पनीले कति वर्ष पहिलेदेखि आइपीओ जारी गरेको हो ? अनि सञ्चालनमा छ ? 
बफेटले १० वर्षभन्दा बढी समयदेखि अस्तित्वमा रहेका कम्पनीहरु मात्र छनोट गर्ने गरेका छन् । त्यसकारण विगत १० वर्षभित्रमा आइपीओ जारी गरेका अधिकांश आइटी कम्पनीहरुमा बफेटले लगानी गरेका छैनन् । भ्याल्यू इन्भेष्टिङको एक महत्वपूर्ण पक्ष भनेको समयको परीक्षणमा खरो उत्रिएका तर तत्काल अन्डरभ्याल्यूड भएका कम्पनीहरु छनोट गर्ने हो । बफेटले पनि लामो समयदेखि व्यवसाय गर्दै आएका र आफूले व्यवसाय गदै आएका कम्पनीमा लगानी गर्ने गरेका छन् ।
 
५ कम्पनीको प्रतिस्पर्धात्मक क्षमता  
बफेट कुनै एउटामात्र प्रोडक्टमा फोकस हुने कम्पनीमा लगानी गर्न रुचाउँदैनन् । उदाहरणका लागि तेल तथा ग्याँस । बफेट अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्नका लागि विशेष किसिमका फरकफरक प्रोडक्ट तथा सर्भिस नभएका कम्पनीमा लगानी गर्न हिचकिचाउँछन् । बफेटको छनोटमा प्रतिस्पर्धात्मक लाभ भएका कम्पनीहरु बढी पर्ने गरेका छन् । अर्को अर्थमा भन्नुपर्दा, एउटै क्षेत्रका कम्पनीहरुमध्ये जुनले फरक र युनिक प्रोडक्ट वा सर्भिस दिन्छ त्यसैमा बफेट लगानी गर्दछन् ।