वाणिज्य बैंकहरुले मुद्दति निक्षेप र साधारण बचतको ब्याजदर बढाएका छन्। बैंकहरुले असोज १ गतेदेखि लागु हुनेगरी सार्वजनिक गरेको ब्याजदरमा अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएका हुन्।



बैंकहरुले १० प्रतिशतसम्म ब्याज दिनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुमा लगानीयोग्य रकम अभाव भएपछि निक्षेप खोसाखोसको अवस्था सुरु भएको छ। जसले गर्दा नयाँ निक्षेप नआए पनि आफ्नो निक्षेपलाई बाहिर जान नदिन पनि निक्षेपमा ब्याजदर बढाउनु परेको बैंकरहरु बताउछन्।

अहिले केहि बैंकहरुको लगानीयोग्य रकम सहज अवस्थामा नै छ। तर ती बैंकहरुले पनि निक्षेपको ब्याजदर बढाएर सार्वजनिक गरेका छन्। बैंकहरु अहिले नयाँ निक्षेप नआए पनि पुरानै निक्षेपलाई बाहिर जान नदिन ब्याजदर बढाउन थालेको उनीहरुको भनाई छ।


बिहीबार नयाँ ब्याजदर सार्वजनिक गर्ने बैंकहरुमध्ये सनराइज बैंकले मुद्दतिको ब्याज सबैभन्दा धेरै बढाएर १०.०७ प्रतिशत पुर्याएको छ। 

यस्तै ११ वटा बैंकले ९ प्रतिशतभन्दा धेरै ब्याज दिनेगरी सूचना निकालेका छन भने १३ वटा बैंकले ९ प्रतिशतभन्दा कम तर ८ प्रतिशतभन्दा धेरै ब्याज दिनेगरी सूचना निकालेका छ। यस्तै एक बैंकले भने मुद्दतिको ब्याजदर ८ प्रतिशतभन्दा कम राखेको छ।


सार्वजानिक सूचना अनुसार प्राइम कमर्शियल बैंकले मुद्दति निक्षेपमा अधिकतम ९.७६ प्रतिशत ब्याज दिने छ भने एनएमवि बैंकले ९.५२, सानिमा बैंकले ९.५१, ग्लोबल आइएमई बैंकले ९.५० प्रतिशत, नबिल र एनसिसि बैंकले ९.२६ प्रतिशत, सेञ्चुरी बैंकले ९.२५, हिमालयन बैंकले ९.१५ प्रतिशत, सिद्धार्थ बैंकले ९.०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ९.०२ प्रतिशत, लक्ष्मी बैंकले ९ प्रतिशत, बैंक अफ काठमाण्डूले ८.७७ प्रतिशत, नेपाल बंलादेश बैंकले ८.७६ प्रतिशत ब्याजदर दिने जनाएका छन्। त्यसैगरी एभरेष्ट बैंकले ८.६१ प्रतिशत, नेपाल एसविआई बैंकले ८.५५ प्रतिशत, सिभिल बैंकले ८.५५ प्रतिशत, कुमारी बैंकले ८.५१ प्रतिशत, प्रभु बैंकले ८.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.०६ प्रतिशत, नेपाल बैंकले ८.०५ प्रतिशत र सिटिजन्स बैंकले ८ प्रतिशत र स्ट्यान्डर्ड चाटर्ड बैंकले ७.५५ प्रतिशत ब्याजदर दिने जनाएको छ।


"ब्याजदर बढाएर नयाँ निक्षेप आँउछ भन्ने त छैन। तर बैंकको निक्षेपलाई बाहिर जान नदिन पनि ब्याजदर बढाउनुपरेको हो," एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले मेरोलगानीसँग भने।

असोज १ महिना बैंकहरुको लागि अझै असहज हुने उनको भनाई छ। अझै असोज १ महिना बैंकहरुमा लगानीयोग्य रकममा असहज अवस्था रहने उनको आंकलन छ।

 चार्डपर्वले गर्दा बैंकहरुबाट रकम बाहिरिने हुँदा असोजमा पनि बैंकहरुलाई व्यवस्थापन गर्न असहज नै हुन्छ।

अहिले अधिकांश बैंकहरुमा लगानीयोग्य रकम कम हुँदै गएको अवस्थामा बैंकहरुमा थपिने निक्षेप निकै कम छ। उल्टै बैंकिङ्ग प्रणलीबाट निक्षेप बाहिरिरहेको छ।


 यस्तो अवस्थामा कुनै बैंकले ब्याजदर बढाउदा थारै ब्याज दिने बैंक छोडेर निक्षेपकर्ताहरु बढी ब्याज दिने बैंकमा जाने सम्भावना धेरै हुन्छ। यसले गर्दा एक बैंकले ब्याज बढाउदा अन्य बैंकहरु पनि निक्षेप बाहिर जान नदिन ब्याजदर बढाउने प्रतिस्पर्धामा लागेका छन्।


चालु आर्थिक वर्षमा मात्रै बैंकहरुले करिब १४० अर्ब कर्जा दिएका छन भने निक्षेप संकलन ५९ अर्ब रुपैयाँले घटेको छ। बैंकहरुमा आउनेभन्दा बाहिरिने रकम बढेपछि तरलता अभाव देखिएको हो।


गत आर्थिक वर्षमा बैंकिङ्ग प्रणालीमा रहेको उच्च तरलताका कारण बैंकहरुको ब्याजदर घटेर न्यून विन्दुमा झरेको थियो। मुद्दति निक्षेपमा ९.७५ प्रतिशत ब्याज दिँदै आएका बैंकहरुले लगानीयोग्य रकम धेरै भएपछि मुद्दतिको ब्याजदर घटाएर साढे ६ प्रतिशतसम्म झारेका थिए। जसले गर्दा कर्जाको ब्याजदर पनि घटेर एकल विन्दुमा झरेको छ।


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सिसिडि रेशियो खारेज गर्दै सिडि रेशियो लागु गरेको छ। सिडि रेशियो लागु गर्दा पुनरकर्जा, ऋणपत्र तथा विदेशी मुद्रामा लिएको कर्जालाई समेत गणना गर्न पाउने व्यवस्था गरेको छ। तर सिसिडि रेशियो खारेज गरेर सिडि रेशियो लागु गर्दा बैंकहरुले कर्जा दिने क्षमता घट्ने बताउदै आएका थिए।


केहि समय अघि देखि नै कतिपय बैंकहरुको लगानीयोग्य रकम कम भएर थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेपछि उनीहरु सर्वसाधारणबाट निक्षेप बढाउन  ब्याजदर बढाउन थालेका थिए। जसले गर्दा अहिले सबैजसो बैंकहरुले प्रतिस्पर्धात्मक रुपमा ब्याजदर बढाएका छन्।


बैंकिङ्ग प्रणलीमा तरलता कम हुँदै गएपछि केन्द्रीय बैंकले समेत बिहिबार मात्रै रिपो जारी गरेर २० अर्ब रुपैयाँ बजारमा पठाउदै छ।