नेटवर्थ भनेको के हो ? इपिएस, पिई र पिबी सर्किट ब्रेकर

 नेटवर्थ भनेको के हो ?

कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ (खुद मूल्यअथवा किताबी मूल्य) हो । कुल नेटवर्थ कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रति सेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ ।

नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ । दोस्रो बजारमा कारोबार गर्दा कम्पनीको सेयरको किताबी मूल्य र बजार मूल्यबीच तुलना गरेर खरिद बिक्रीको निर्णय गर्नु राम्रो मानिन्छ ।

इपिएस, पिई र पिबी

कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी (अर्निङ पर सेयर, इपिएस) प्राप्त हुन्छ । यो सेयरको मूल्य मापन गर्ने एक महत्वपूर्ण आधार हो । प्रतिसेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल ।
कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो हो । यो अनुपात कम (१० भन्दा कम) भएका सेयर शंकास्पद हुन्छन, १० देखि २० सम्मका तुलनात्मक रुपमा सुरक्षित हुन्छन, २० भन्दा माथिका जोखिमयुक्त हुन्छन् । शंकास्पद भन्नुको अर्थ कम पिइ रेसियो हुनुमा लगानीकर्ताहरुले पहिचान नगरेकाले बजार मूल्य कम हुँदा पिई पनि कम हुन्छ भने अर्कोतिर कम्पनीले नाफा नै कम गरेकोले इपिएस कम भई पिइ पनि न्युन हुन सक्छ । त्यसैले कुन कारणले पिई कम भएको हो पत्ता लगाउनु पर्छ ।
सेयरको बजार मूल्य र किताबी मूल्य बीचको अनुपात प्राइस टु बुक भ्यालु (पिबी) रेसियो हो । पिबी रेसियो ५ सम्म भएको सेयरलाई सुरक्षित मानिन्छ । अर्थात कुनै कम्पनीको सेयरको किताबी मूल्य १५० रुपैयाँ छ भने बजार मूल्य ७५० रुपैयाँ हुदासम्म खरिद गर्दा जोखिम कम हुन्छ भन्ने मान्यता छ ।

स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोवार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन् । बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो ।
प्रत्येक दिन सेयरको प्रथम कारोबार हुँदा उक्त सेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुन्छ । डिवेन्चर भएमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछिका कारोबारहरुमा ०.१ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्छ ।
यसैगरी कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र  तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ ।