• rasuwagadi_7_14_2020_12_02_56_5_26_2021_8_47_54.jpg
 रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ४६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्ष पनि कम्पनी ६ करोड ६० लाख रुपैयाँ नोक्सानमा रहेको थियो । यो त्रैमासम्म आइपुग्दा पनि कम्पनी सञ्चालन घाटामा रहेको छ । तर गत वर्षको तुलनामा भने सञ्चालन घाटा केही कम छ । 
 
गत वर्ष ३ करोड २३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको रसुवागढी यो त्रैमासमा २ करोड ७ लाख ६१ हजार रुपैयाँ घाटामा छ । हाल यसको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रहेको छ भने जगेडा कोष २२ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५३ पैसा नोक्सनामा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ३२ रुपैयाँ छ । 
 
हाल यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको ८०% निर्माण कार्य सम्पन्न भइसकेको छ । कम्पनीले २०७७ सालमा आएको बाढीको कारण बाँधमा क्षती हुँदा निर्माण कार्यमा ढिलाई भएको जनाएको छ । यस्तै, कोरोना संक्रमणको कारण लकडाउन हुँदा पनि निर्माण कार्यमा समस्या भएको कम्पनीले जनाएको छ । 
 
अब कम्पनीले २०७९ असार सम्ममा निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । काम सकिएपछि कम्पनीले ६१ करोड ३८ लाख ७५ हजार युनिटबाट विद्युत उत्पादनबाट वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने उल्लेख छ ।