• life_ine_img_5_27_2021_8_08_55.jpg
सूचीकृत पूराना जीवन बिमा कम्पनीहरुले बजार विस्तार गरिरहँदा नयाँ जीवन बिमा कम्पनीहरु पनि मजबुत बन्दै गएका छन् । एक वर्षको अवधिमा आइपीओ जारी गर्न बाँकी रहेका सबै जीवन बिमा कम्पनीको खुद बिमा शुल्क, कुल बिमा शुल्क, जीवन बिमा कोषको आकार बढेको छ । बिमा समितिले एकैपटक १० जीवन बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । तीमध्ये ३ वटा कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने ७ वटा कम्पनी आइपीओ निष्कासनको प्रक्रियामा रहेका छन् ।

सर्वसाधारणमा सेयर बिक्री गर्नुअघि यी कम्पनीहरुले आफ्नो वित्तीय अवस्था थप मजबुत बनाउने प्रयत्न गरिरहेका छन् । बिमा बजार विस्तारको पर्याप्त स्थान रहेकाले पनि नयाँ कम्पनीहरुले विभिन्न रणनीतिहरु अवलम्बन गरिरहेका छन् । अब हेरौं, आइपीओ निष्कासनको प्रक्रियामा रहेका ७ जीवन बिमा कम्पनीको वित्तीय अवस्था कस्तो छ ?
 
धेरै चुक्ता पुँजी हुनेमा सिटिजन लाइफ इन्सुरेन्स अघि 
 
७ वटै जीवन बिमा कम्पनीको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । यी कम्पनीहरुले अइपीओ जारी गर्न बाँकी भएकाले चुक्ता पुँजी यथावत भएको हो । यीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी सिटिजन लाइफ इन्सुरेन्सको रहेको छ । यसको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । आइपीओ जारी गरेपछि ७ वटै जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ माथि पुग्ने छ । 

 ७ वटै कम्पनीको जगेडा कोष बढ्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ७ वटै कम्पनीको जगेडा कोष बढेको छ । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा महालक्ष्मी लाइफ इन्सुरेन्स रहेको छ । यसको जगेडा कोष १२९.०१% ले बढेर १६ करोड ८ लाख ४ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै जगेडा कोष भने रिलायबल नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । यसको जगेडा कोष ३७.७७% ले बढेर ८२ करोड ३२ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
 
युनियन लाइफको बिमा जीवन कोष सबैभन्दा धेरै
 
चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै जीवन बिमा कोष युनियन लाइफ इन्सुरेन्सको रहेको छ । यसको बिमा कोषको आकार ८७.२२% ले बढेर ६ अर्ब ९० करोड २ लाख १० हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा ७ वटै कम्पनीको जीवन बिमा कोष बढेको छ । बिमा कोषमा सबैभन्दा धेरै वृद्धि महालक्ष्मी लाइफले हासिल गरेको छ । यसको बिमा कोष १७१.५७% ले बढेर १ अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ पुगेको छ । 

 
सबैभन्दा धेरै नाफा कमाउनेमा रिलायबल नेपाल इन्सुरेन्स
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ इन्सुरेन्स रहेको छ । यसको नाफा २१.८०% ले बढेर २० करोड ३४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा युनियन लाइफ बाहेक अन्य सबै कम्पनीको नाफा बढेको छ ।

सबैभन्दा धेरै नाफा बढ्नेमा सन नेपाल लाइफ रहेको छ । यसको नाफा ३०.२४% ले बढेर ९ करोड ५५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । युनियनको नाफा भने ७.५६% ले घटेको छ ।

 
खुद बिमा शुल्क आर्जनमा युनियन लाइफ अघि
 
तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै खुद बिमा शुल्क आर्जन गर्नेमा युनियन लाइफ इन्सुरेन्स रहेको छ । यसको खुद बिमा शुल्क ५९.३९% ले बढेर ५ अर्ब ५ करोड ५१ लाख १५ हजार रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै खुद बिमा शुल्क बढ्नेमा सानिमा लाइफ इन्सुरेन्स रहेको छ । सानिमा लाइफको खुद बिमा शुल्क १५१.५८% ले बढेर १ अर्ब ४४ करोड ८७ लाख २१ हजार रुपैयाँ पुगेको छ । 

 
सबैभन्दा धेरै कुल बिमा शुल्क आर्जन गर्नेमा पनि युनियन लाइफ
 
चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै कुल बिमा शुल्क (हालसम्म) आर्जन गर्नेमा पनि युनियन लाइफ इन्सुरेन्स अघि रहेको छ । युनियनको कुल बिमा शुल्क ९३.२६% ले बढेर १३  अर्ब ८१ करोड ९३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै कुल बिमा शुल्क बढाउनेमा सिटिजन्स लाइफ रहेको छ ।

यसको कुल बिमा शुल्क ११८.८२% ले बढेर ६ अर्ब २ करोड २८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । यता, महालक्ष्मी लाइफले भने हालसम्म आर्जन गरेको कुल बिमा शुल्क वित्तीय विवरणमा समावेश गरेको छैन ।