काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै 'कुहिएको अन्डा' को संज्ञा दिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टहरु बिग्रिए कामै नलाग्ने गरी कुहिएर जाने बताएका हुन् ।
कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भए तापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधैं चलिरहने उनले स्पष्ट पारे । उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष भएको पनि दाहालले बताए ।
माओले बिग्रिएका कम्युनिष्टलाई कुहिएको अन्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली पनि 'कुहिएको अन्डा' भएको बताए । 'एकपटक माओत्सेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्नुभएको थियो । अन्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अन्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुँदैन ।
कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो कोही पनि हुँदैन । केपी ओली त्यही कुहिएको अन्डा हो,' उनले भने, 'कुहिएको गन्हाएको अन्डालाई खाइँदैन नि ! त्यसलाई गाडिन्छ या जलाइन्छ । तपाईं हामीचाहिँ स्वस्थ्यवर्द्धक जीवनशील तत्व हो ।
'प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षड्यन्त्र विरुद्ध 'जनयुद्ध' सुरु भएको भनेको स्मरण गर्दै उनले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताए । उनले भने, 'मैले प्रतिक्रान्तिको षड्यन्त्रको विरुद्ध शान्तिपूर्ण रुपले नयाँ जनयुद्ध सुरु भयो भनेको थिएँ । जनयुद्धमा सर्वोच्चको फैसलापछि तपाईं/हामी सबै विजयी भएको अवस्था हो । ' उनले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै अहिले फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गरे ।
उनले नेत्रविक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुँदै उनलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताए । 'विप्लवजी पनि अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ । यसअर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । अन्तत: उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनै पर्छ ।
मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउनेछ, जुन दिन तपाईं यहाँ हुनुहुनेछ भनेको थिएँ,' उनले भने, 'एउटा कालखण्डमा एउटैमात्र प्रचण्ड हुन्छ । दुईवटा पात्र एकैचोटी हुँदैन । एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुईवटा प्रचण्ड हुँदैन भनेकै थिएँ । अन्तत: उहाँ प्रचण्डकै बाटोमा आउनुभयो ।'